पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

२०८१ वैशाख २१, शुक्रवार १८:०६ बजे

काठमाडौं- आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । साथै सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी समेत गरेको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।

‘अस्थायी बासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषय मन्त्रिपरिषद्‌मा छलफल भइराखेको छ । हामी कार्यविधिलाई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भने ।