पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा, थपियो गौतम श्री

२०८१ बैशाख ९, आईतबार ०७:४४ बजे

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ ।

गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगको कारण सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको हो।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको/पाइएको छ।

सङ्घीय सरकार मातहतका १४५ सहकारीमध्ये समस्याग्रस्त घोषित २० वटा सहकारी संस्थाबाट २० अर्ब रुपियाँभन्दा बढी अनियमितता भएको देखिन्छ । 

समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालका अनुसार सञ्चालक आफैँ ऋणी भएकाले अधिकांश सहकारी संस्था डुबेको बताएका छन्।

अध्यक्ष दाहालका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएकामध्ये पाँच सय समस्याग्रस्त छन् । यो सङ्ख्या आधिकारिक होइन, एक वर्षयता दिनैपिच्छे सहकारी पीडितको उजुरी तल्लो तहबाटै आइरहेका छन् । वास्तविक तथ्याङ्क आएमा केही हजार सहकारी समस्याग्रस्त भएका हुन सक्छन् भनि दाबी गरेका छन्।