पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

माननिय किरण कुमार साह बने महिला तथा सामाजिक समिति सभापति

२०८० भाद्र १४, बिहीवार ०९:५७ बजे

जनकपुरधाम–प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्यो लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेका छन् ।
महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका प्रतिनिधिसभा सदस्य हुन् । जसपासँग चुनावी गठबन्धन हुँदा रौतहट क्षेत्र नं. २ जसपाको भागमा पर्यो भने अन्य तीनवटा क्षेत्र एमालेको भागमा ।
त्यही बेला प्रभु साहले एमालेबाट विद्रोह गरे । एमालेबाट टिकट खोसिएको भन्दै किरणले पनि प्रभुसँगै पार्टीबाट विद्रोह गरे । प्रभुको स्वतन्त्र प्यानलबाटै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
प्रभु साहले क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका थिए । पछि पाँचदलीय गठबन्धनले प्रभु साहलाई नै सघाउने निर्णय गर्यो । तर किरण चुनाव लडेको क्षेत्रमा सत्ता गठबन्धन घटक नेपाली कांग्रेसबाट फिरदोस आलम उम्मेदवार बने ।
प्रभु साहले गठबन्धनको सहयोग लिएको तर आफूलाई नसघाएर कांग्रेस उम्मेदवार फिरदोसलाई जिताउन षड्यन्त्र गरेको भन्दै किरण बिच्किए । ‘हामीबीच स्वतन्त्र उम्मेदवारलाई चुनावमा एकअर्कालाई समन्वय गरी सघाउने, जित्ने र जिताउने सहमति भएको थियो । तर चुनावको ४ दिनअघि उहाँले कांग्रेस उम्मेदवार फिरदोसदाई जिताउने प्रतिबद्धता र मलाई हराउने षड्यन्त्र गर्नुभयो । त्यसपछि म आफ्नो ढंगले अघि बढेँ,’ किरण भन्छन् । चुनावको दुईदिन अघि उनलाई जसपाका उम्मेदवार शैलेन्द्र साहले समर्थन गर्ने उदघोष गरेका थिए । फलस्वरुप उनी ३२ हजार आठ सय ४२ मत प्राप्त गरी स्वतन्त्रबाटै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलम २८ हजार २४८ मत पाएर पराजित भए ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट अफताव कांग्रेसबाटै १८ हजार ८३३ मत सहित विजयी हुँदा किरण संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार थिए । किरण १६ हजार ८६५ मत पाएर दोस्रो भएका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट जिते पनि १९ पुस २०७९ मा किरण एमालेमा फर्किए । उनलाई एमालेले गठबन्धनसहितको सरकारमा मन्त्री बनाउने आश्वासन दिँदै पार्टीमा भित्राएको थियो । पाँचदलीय गठबन्धन पुरानै अवस्थामा फर्किँदा सरकारबाट एमालेको बहिर्गमनले किरण मन्त्री बन्न पाएनन् ।
‘अन्तिम अवस्थामा जसपाको भागमा मेरो क्षेत्र पारेपछि मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ । पछि पार्टी अध्यक्षजीले मतगणनाको बेला मलाई दुईपटक फोन गरेर हालखबर सोध्नु भयो । जसपाको सहयोग हामीले नै गराएको भन्नुभयो । अग्रिम बधाई दिनुभयो,’ किरण भन्छन्, ‘पछि एकलै स्वतन्त्र सांसद भएर केही गर्न सकिँदैन भन्ने लागेपछि र अध्यक्षजीले सम्मान हुन्छ भनेपछि फर्किएँ ।’
अन्ततः एमालेले उनले संसदीय समितिको सभापति बनाएको छ । किरण यो पदलाई स्वाभाविक मान्छन् । ‘यसलाई उपहार भन्नुस् वा जे भन्नुस् । उचित सम्मान हुन्छ भनेर पार्टीले भनेको थियो । एमाले सत्तामा गएपछि मन्त्री पनि मलाई बनाउँछ भन्नेमा म विश्वस्त छु ।’