पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘टाइगर ३’ पछि ‘डन ३’ मा भिलेनको भूमिकामा देखिंदै इमरान

२०८० पौष २९, आइतवार ०९:४५ बजे

काठमाडौं : बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए ।
तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे ।
‘डन’को तेस्रो श्रृंखलाको प्रि–प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला फिल्मको कास्टिङलाई लिएर एक नयाँ खबर छ । ‘डन ३’ को कास्टमा एक दमदार बलिउड अभिनेता जोडिंदैछन्, जसलाई दर्शकले सलमान खानको पछिल्लो फिल्म ‘टाइगर ३’ मा भिलेनको भूमिकामा देखेका थिए ।
यति भनेपछि इमरान हासमीको नाम आउने भइहाल्यो । हो, उनै इमरान ‘डन’को नयाँ सिक्वेलमा भिलेनको भूमिकामा देखिन लागेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । न्युज–१८ का अनुसार यो फिल्मको खलपात्रमा इमरान देखिने सम्भावना बलियो छ । फ्यानका लागि यो खबर किन पनि महत्वपूर्ण छ भने दुई लोकप्रिय अभिनेतालाई पर्दामा आमनेसामने देख्न पाउनु निकै रमाइलो कुरा हो ।
यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । यद्यपि यसैसाता इमरान निर्देशक अख्तरको कार्यालयबाट बाहिर निस्किंदै गरेको बेला देखिएका थिए । अफिसबाट बाहिरिंदै गर्दा भिडियोमा देखिएका इमरानले हुडी स्टाइलको वेस्टकोट लगाएका छन् । त्यसक्रममा उनले फ्यानसँग कुराकानी पनि गरेका छन् ।
इमरानको पछिल्लो फिल्म ‘टाइगर ३’ ले बक्स अफिसमा कमाल गर्न त सकेन, तर उनको अभिनयको भने मजाले प्रशंसा भयो । ‘डन ३’ को प्रदर्शन सन् २०२५ मा हुने जनाइएको छ ।