पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

दयाहाङ अभिनित ग्याङस्टर ड्रामा ‘रंगेली’को ट्रेलर सार्वजनिक

२०८० फाल्गुन ९, बुधबार २०:३४ बजे

काठमाडौं : दयाराङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरलाई निर्देशकले स्टाइलिस बनाउने प्रयत्न गरेका छन् ।
हरेक ग्याङस्टर फिल्मको ‘ग्राफ’ के हो भने, कुनै परिस्थितीले पात्रलाई हिंसा आत्मसात गर्न बाध्य तुल्याउँछ । फलस्वरुप ऊ शक्ति र पैसाको निकट बन्ने प्रयास गर्छ । प्रत्येक ग्याङस्टरको रङ ‘ग्रे’ हुने गर्छ । यो आयाममा निर्देशक अर्जुन सुवेदीले विजय नामक यस्तो पात्र उभ्याएका छन् । जो परिवारको खुशि र आर्थिक सम्पन्नताको लागि हिंसाको बाटो पछ्याउँछ । ट्रेलरमा अपराध र राजनीतिबीचको नेक्सस देखाउने पनि प्रयास छ । फिल्मको शीर्ष भूमिका विजयको रोलमा दयाहाङ राई देखिएका छन् । पछिल्लो समय अभिनयमा ‘स्टेरियोटाइप’को आरोप खेपिरहेका दयाहाङलाई ‘रंगेली’ले त्यो पहिचानबाट मुक्त गर्न भूमिका खेल्न सक्छ । फिल्मको सबै कथा विजय पात्रको वरपर फन्को मार्छ ।

ग्याङस्टर साम्राज्य खडा गर्न पात्रले नेता र अन्य ग्याङस्टरसँग लड्नुपर्छ । अर्पण थापा खलपात्रको भूमिका सशक्त देखिएका छन् । पत्नी जुनकिरीको भूमिकामा मिरुना सरल देखिएकी छन् । ग्याङस्टर पत्नीको रुपमा उनको लुक्सले दर्शकलाई पारिवारिक आयामको बोध गराउन सक्छ ।
पछिल्लो समय विश्व फिल्ममा सामान्य मान्छेले शक्तिमा पुग्न गरेको संघर्षको कथा प्रस्तुत गर्ने ट्रेन्ड छ । रंगेलीले समकालिन फिल्मको त्यो ट्रेन्डलाई पछ्याउँछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । ट्रेलरले यो फिल्मलाई ‘डर र शक्तिको खेल’ भनेको छ । कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदीले दर्शकले चाहेको जस्तो फिल्म बनाउने कोसिस गरेको बताए ।
उनले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मिहेनत गरेर यो चलचित्र बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौँ ।’

अभिनेता रुपेश झाले फिल्मले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।
फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको पनि अभिनय छ । गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।
कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् । शिवरात्रीको अवसरमा यो फिल्म फागुन २५ गते प्रदर्शन तयारी छ ।