पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

जिल्ला वन रौतहटको काठ दाउरामा भएको आगलागी प्राकृतिक प्रकोपबाट हो या सुनियोजित?

२०८० चैत्र २०, मंगलबार १८:३९ बजे

स्थानीयहरुका अनुसार यस बर्ष वास्तविक दैविप्रकोप पिडित र घरकाजको लागि काठदाउरा बिक्री बितरण गरिनुपर्नेमा जिल्ला भरिका हाई प्रोफाइलहरुलाई छानिछानि जिल्ला वनले मनलाग्दी परिमाणमा काठदाउरा बितरण गरेकाले लगतमा हुनुपर्ने परिमाणमा समस्या देखिएपछि वन कर्मचारी र तस्करहरुको मिलेमतोमा उक्त आगलागी गराइएको हुनसक्ने अनुमान गरिएको छ। 

तेजविक्रम कार्की 

रौतहट- हिजो सोमबार रौतहट स्थित वन क्षेत्र भित्र घाटगद्दी गरिराखेको काठ दाउरामा सुनियोजित ढङ्गले आगो लगाईएको शङ्का उत्पन्न भएको छ। 

घाटगद्दी गरि राखिएको काठमा मात्र आगलागी हुनु र त्यसको वरपर डढेलोको कुनै पनि संकेत नदेखिनुले उक्त काठमा आगो लगाईएको स्पष्ट बुझिन्छ। 

गत केहि महिना देखि उक्त घाटगद्दीबाट काठ दाउरा धमाधम बिक्री बितरण भैरहेको थियो। डिभिजन वनबाट यसआर्थिक वर्षमा मात्र १५६ जना सेवाग्राही लाई घरकाजको र ७८ जनालाई दैवीप्रकोपको लागि काठ बितरण गरिएको थियो भने १३८ जना सेवाग्राहीलाई दाउरा उपलब्ध गराईएको थियो।

घरकाजमा बितरण गरिएको काठको परिमाण१० हजार ९७६ क्युबि फिट, दैवीप्रकोपमा तीनहजार १सय साढे ७५ क्युबि फिट थियो भने ९८ चट्टा दाउरा बितरण भएको थियो।

स्थानीयहरुका अनुसार उक्त घाटगद्दीबाट बितरण भएको काठ दाउराको परिमाणमा अनियमितता भई लगतमा हुनुपर्ने स्टक अनुसारको काठको परिमाण नभएका कारण वन कर्मचारी र तस्करहरुको मिलेमतोमा आगो लगाईएको हुन सक्ने अनुमान गरिएको छ । 

यस सम्बन्धमा वनका डिएफओ शैलेन्द्र मिश्रसँग बुझ्न खोज्दा फोन सम्पर्क विहिन अवस्थामा राखेर सम्पर्क बिहिन भएका छन्। तर जिल्ला वन अधिकृत बिमल ठाकुरका अनुसार भने उक्त आगलागी डढेलोको कारण भएको र यसमा कसैको पनि बदनियत नभएको बताएका छन्। 

वन अधिकृत ठाकुरका अनुसार हाईटेन्सन लाईन निर्माणको लागि कटान गरि घाटगद्दी गरिएको २२ चट्टा दाउरामा उक्त आगलागी भएको थियो। आपुर्ति समितिको मातहतमा रहेको उक्त काठदाउरामा भएको आगलागी प्राकृतिक प्रकोपबाट भएको हो? या जानिजानी कसैले बदनियतपूर्ण लगाएको हो? सो सम्बन्धमा निष्पक्ष छानविन हुने र हाललाई जिल्ला वनले सो कार्यको प्रारम्भिक अनुसन्धानमा आफुलाई खटाएको जानकारी दिएका छन्। 

तर स्थानीयहरुका अनुसार यस बर्ष वास्तविक दैविप्रकोप पिडित र घरकाजको लागि काठदाउरा बिक्री बितरण गरिनुपर्नेमा जिल्ला भरिका हाई प्रोफाइलहरुलाई छानिछानि जिल्ला वनले मनलाग्दी परिमाणमा काठदाउरा बितरण गरेकाले लगतमा हुनुपर्ने परिमाणमा समस्या देखिएपछि वन कर्मचारी र तस्करहरुको मिलेमतोमा उक्त आगलागी गराइएको हुनसक्ने अनुमान गरिएको छ। 

सोमबार दिउँसो २ बजे देखि लागेको आगलागी भिषण भएपश्चात पाँचवटा बारुणयन्त्र प्रयोग गरि साँझ अबेर सम्म आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। करिब छ घन्टाको प्रयास पछि उक्त आगलागी नियन्त्रणमा लिइएको थियो। भिषण आगलागी काठ दाउरा राखिएको ठाउँमा मात्र देखिनुले उक्त घटना सुनियोजित षड्यन्त्र हुन सक्दैन ? भनि प्रश्न गर्दा अधिकृत ठाकुरले यस सम्बन्धमा निष्पक्ष अनुसन्धान हुने बताएका छन्। 

पछिल्लो समय जिल्ला वन कार्यालय‌ रौतहट र तस्करहरुको साँठगाँठ गहिरो रहँदै आएको कुरा यसअघि चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको घटनाबाट सजिलै बुझ्न सकिन्छ । उक्त घटनामा युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले काठ बिक्रीको टेन्डरको गोप्य सुचना आफूले थाहा पाएपछि टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गर्न वन कार्यालय पुगेका थिए यस लगत्तै उनलाई वन मुद्दा लगाएर थुनिएको सन्दर्भमा युवा संघ नेपाल रौतहटले आन्दोलन समेत गरेको थियो। 

गोप्य रूपमा सूचना निकालेर खयर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर लिन पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेपछि डिएफओ शैलेन्द्र मिश्र लामो समयसम्म कार्यलयमा अनुपस्थित रहेका थिए। 

आगलागीको यस घटनालाई सामान्यिकरण गरेर प्राकृतिक प्रकोपबाट भएको हो भन्ने कुरा देखाउँनु भन्दा निष्पक्ष अनुसन्धान गरेर कसैलाई दोषी पाइएमा कानुन बमोजिम कारवाही गरि उचित क्षतिपूर्ति असुल उपर गराउनुपर्ने कुरामा सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जानुपर्ने कुरामा हाल सर्वसाधारणको टिप्पणी केन्द्रित भएको छ ।