पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

दुग्ध किसानसँगको सहमतिको अवधि सकियो, अझै दिएन सरकारले भुक्तानी

२०८० चैत्र २४, शनिवार ०९:५६ बजे

काठमाडौं- पछिल्लो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको रकम चैत २१ गतेभित्रमा उपलब्ध गराउने भनेर लिखित प्रतिवद्धता जनाएर पनि दुग्ध किसानको बक्यौंता रकम भुक्तानी नगरेको पाइएको छ ।

गत फागुन १९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका निवर्तमान मन्त्री वेदुराम भुषालको उपस्थितिमा चैत २१ गतेभित्रमा पुसमसान्तसम्मको बक्यौंता रकम भुक्तानी गर्ने सरोकारवाला निकायहरुबीच लिखित सहमति भएको थियो ।

उक्त लिखित सहमतिपत्रमा पशुपन्छीतर्फका सचिव डा.रेवतीरमण पौडेल, मन्त्रालयका सहसचिव डा.सूर्यप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल तथा दुग्ध विकास संस्थान (डीडीसी) का उपमहाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए ।

त्यस्तै केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुंवर, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, पूर्वअध्यक्ष सुमित केडिया र नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।