पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०८० माघ १९, शुक्रवार ११:५१ बजे

रुकुम पूर्व : हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् ।
मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन ।
आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिएका छन् । सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ ।
हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ ।

हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ ।