पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

रौतहटमा अत्याधिक गर्मीका कारण विद्यार्थी बेहाेस हुँदै

२०८१ आश्विन ७, सोमवार २१:०८ बजे

प्रेमचन्द्र झा                       

रौतहट- अत्याधिक गर्मीका कारण राैतहटमा बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।

एका एक अत्याधिक गर्मी बढेका कारण बिद्यालयमा बिद्यार्थीहरु बेहोस हुन थालेका छन्  । रौतहटको राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा सोमवार आज मात्र ४ जना छात्रछात्राहरु बेहोस भएका थिए। श्री माध्यमिक विद्यालय पथराका व्यवस्थापन समितिका अध्यक्ष प्रभु यादवका अनुसार कक्षा ६ का नव्या साह, कक्षा ७ का अर्चना साह, कक्षा ९ का अरबिन्द साह र कक्षा १० का निधि गुप्ता अत्याधिक गर्मीका कारण बेहोस भएका थिए।बेहोस भएका ती चार जना छात्रछात्रालाई उपचारका लागि राजदेवी नगरपालिकाको एम्बुलेन्समा प्रादेशिक अस्पताल गौर लगिएको अध्यक्ष यादवले बताए ।

गर्मीबाट बिद्यार्थीहरुलाई सुरक्षित राख्नका लागि बिद्यालयमा चिसो पानीको व्यवस्थाका साथै विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरेको उनले बताए।

यस्तै चन्द्रपुर नगरपालिकाले यो समस्यालाई जटिल समस्याको रूपमा लिदै क्षेत्र भित्रका सबै बिद्यालयहरुलाई असोज ८ गते देखि १६ गतेसम्मका लागि बिद्यालय सञ्चालनका समय बिहान ६ बजे देखि गरेका छन् ।

साथै देवाही गोनाही नगरपालिकाका बिद्यालयहरुले पनि बिद्यालय सञ्चालनको समय बिहानदेखि नै गरेको श्री माध्यमिक बिद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पन्डितले बताए ।

शिक्षा विकास तथा समन्वय ईकाई राैतहटका प्रमुख बिरेन्द्र जंग थापाले सबै बिद्यालयलाई केहि दिन गर्मीका कारण बिहान मात्र बिद्यालय सञ्चालन व्यवस्था गर्न आग्रह गरेका छन् । असहज भएमा बिद्यालयमा बिदा दिन समेत निर्देशन दिएको प्रमुख थापाले बताएका छन् ।