पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेपाल र यादवको पार्टीलाई बाहिर गरेर मन्त्रिमण्डल हेरफेरको तयारी

२०८१ वैशाख २८, शुक्रवार ०७:५२ बजे

काठमाडौं- प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली नेताद्वय नेकपा एस र जसपा नेपाललाई बाहिर गरि मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा जुटेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर सत्ता समीकरण फेर्न भित्रभित्रै लागिपरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्ता गठबन्धनका अरु साझेदार दल रुष्ट बनेका छन्।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली नेताद्वय नेपाल र यादवसँग क्रुद्ध बनेका हुन्।

जसपा नेपाल विभाजनसँगै कांग्रेससहितको गठबन्धन निर्माण गर्ने योजना फेल भएपछि नेपाल र यादव दुवैले वर्तमान सत्ता समीकरणकै पक्षमा रहेको स्पष्ट पारेका छन् तर उनीहरूले नै झोसेको अविश्वासको आगो सत्ता समीकरणमा फैलँदो छ। 

फलस्वरुप नेपाल र यादवको पार्टीलाई बाहिर गरेर मन्त्रिमण्डल हेरफेरको तयारीमा एमाले–माओवादी पुगेका छन्। जसपा नेपालबाट विभाजन भएर अशोककुमार राईको नेतृत्वमा बनेको जसपाले मन्त्रिमण्डल हेरफेरका लागि दबाब दिइरहेको स्रोत बताउँछ।

राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ।

‘आफैँ संलग्न समीकरण तोडेर कांग्रेससहितको अर्को गठबन्धन बनाउने प्रयासबीच जसपा नेपाल विभाजन भएपछि एउटा नयाँ परिस्थिति सिर्जना भएको छ’, एक माओवादी पदाधिकारीले भने, ‘सोही कारण अब मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छ। केही दिनभित्रमै यसबारे टुंगो लाग्छ। नयाँ जसपालाई समेटेर हेरफेर हुन्छ।’ 

राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिएर अन्य केही मन्त्री पठाउने तयारी छ। 

तर तत्काल मन्त्रिमण्डल हेरफेर गर्न प्रधानमन्त्री प्रचण्डलाई सहज छैन। एमाले माओवादीको आँकलनविपरीत नेकपा एस र जसपा नेपालले वर्तमान सरकारलाई नै समर्थन कायम राखेपछि कुनै मन्त्रालय खाली नहुँदा नयाँ जसपालाई कसरी समेट्ने भन्ने चुनौती प्रधानमन्त्रीसामु छ।  

आफ्नो योजना विफल भएपछि सरकारमै टाँसिन चाहेका नेकपा एस र जसपा नेपाल आफूहरूलाई ‘आउट’ नगर्न प्रधानमन्त्रीलाई धम्कीसमेत दिने गरेको माओवादी पदाधिकारीको दावी छ।

‘उहाँहरूको योजना सफल नभएपछि यही गठबन्धनलाई हाम्रो समर्थन रहन्छ भन्नुभएको हो’, उनले थाहाखबरसँग भने, ‘उहाँहरूले अहिले हामीलाई हटाए ठूलो संकट आउन सक्छ भनेर धम्की पनि दिनुभएको छ।’

एमाले सचेतक सुनिता बरालले पनि पछिल्लो समय फेरिएको परिस्थितिपछि सरकारमा सहभागी दलहरूको संरचना फेरबदल हुन सक्ने बताइन्।