पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

‘गौशाला २६’ नागरिकताको जन्ममिति गलत

२०८० फाल्गुन २५, शुक्रबार १४:०० बजे

काठमाडौं : एक अपरिचित युवतीको नागरिकता भेटिएको भन्दै लिन आउन सामाजिक सञ्जालमा हिजो एक चर्चित व्यक्तिको अकाउन्टबाट तस्बिरसहित सूचना पोस्ट भयो । कमेन्टबक्समा धेरैले लेखे, ‘गौशाला २६ ।’
नभन्दै यो नागरिकता सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ कै रहेको पुष्टि भएको छ । यसबारे सूचना पोस्ट गर्ने व्यक्ति जानकार थिएनन् । नागरिकता भेट्टाउने व्यक्तिले आफूलाई फोटो पठाएर सामाजिक सञ्जालमा हाल्न आग्रह गरेपछि उनले सेवाभावले सूचना राखिदिएको उनले बताए ।
‘नामले मैले चिनिनँ, धेरैले कमेन्ट गरेपछि पो थाहा भयो’, उनले भने ।
गौशाला २६ ले आफ्नो नागरिकता भृकुटीमण्डमा हिजो बिहान खसालेकी थिइन् । त्यहाँका एक स्टेसनरी पसलले भेट्टाएका थिए । सामाजिक सञ्जालमा आएपछि गौशाला २६ बेलुका त्यहाँ पुगेर आफ्नो नागरिकता लगिसकेकी छन् ।

यही नागरिकता हो, जसलाई लिएर जिल्ला अदालत काठमाडौंमा लामै बहस भएको थियो । नागरिकतामा उल्लेखित गौशाला २६ को जन्ममिति गलत रहेको भनेर प्रतिवादी पक्षले जिकिर गरेपछि वास्तविक उमेरमा विवाद भयो । अन्ततः अदालतले नागरिकताको जन्ममिति गलत रहेको ठह्रयाएको छ ।
नागरिकतामा जन्ममिति २०६२\०२\१८ उल्लेख भएकोमा उनको वास्तविक जन्ममितिभन्दा फरक परेको अदालतले निस्कर्ष निकालेको हो । वास्तविक जन्ममिति २०६१\०१\१८ रहेको फैसलामा जनाइएको छ । अदालतले यस्तो फैसला सुनाएपछि गौशालाको नागरिकताको वैधतामा प्रश्न उठेको छ । तर उनले अहिलेसम्म आफ्नो नागरिकता नसच्याएको देखिन्छ ।
भृकुटिमण्डपमा भेटिएको नागरिकतामा जन्ममिति २०६१\०१\१८ नै उल्लेख छ । जारी मिति २०७९\०३\१५ उल्लेख छ । अर्थात यो नागरिकता उनले गत वर्षको असार १५ गते निकालेकी थिइन् । सन्दीपसँग उनको भेट भने भदौ ५ गते भएको थियो ।

नागरिकतामा नाम थर वा अन्य विवरण फरक परेमा सच्याउनका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । तर, जन्ममिति नै फरक परेको खण्डमा भने सच्याउन सहज छैन । एक प्रमुख जिल्ला अधिकारीका अनुसार नागरिकतामा जन्ममिति सच्याउने बारे स्पष्ट कानूनी प्रावधान छैन ।
‘अरु नाम थर सच्याउन सकिने भए पनि जन्ममिति सच्याउने व्यवस्था ऐनमा छैन’, उनले भने, ‘अदालतले यदि सच्याउन आदेश दिएको छ भने त्यसमा टेकेर निवेदकले निवेदन दिन सक्छन् । अन्यथा केही भन्न सकिँदैन ।’
गौशालाको पहिलो जन्मदर्तामा जन्ममिति २०६२\०१\१८ उल्लेख थियो । तर पछि उनले जन्ममिति २०६१\०१\१८ बनाएर दोस्रो जन्मदर्ता बनाएकी थिइन् प्रतिलिपि ऐन अनुसार यसरी दुईथरि जन्मदर्ता बनाउनु गैरकानूनी हुने ती प्रजिअको भनाइ छ । यसमा किर्ते मुद्दा लाग्न सक्ने उनी बताउँछन् ।