पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

२०८१ बैशाख ७, शुक्रबार ०६:४१ बजे

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो ।

आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए । यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ।

रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको अर्को क्वार्टरफाइनलको दोस्रो लेग थप समयमा गएको छ । निर्धारित समय १–१ टुंगिएर समग्रमा ४–४ बराबरी भएपछि खेल थप समयमा पुगेको हो । रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो ।

मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए । पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौति समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए ।