पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

म्यानचेस्टर सिटीद्वारा नटिङ्घम फरेस्ट पराजित

२०८१ वैशाख १७, सोमवार ०६:२३ बजे

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ ।

सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे ।

३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ग्वार्डियोलले केभिन डी ब्र्युनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो । हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्र्युनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए । 

जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३–२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ । फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ ।