पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

बेलायतका राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउने

२०८० माघ २६, शुक्रवार १०:१४ बजे

काठमाडौं : बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउने भएका छन् । बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन् ।
एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले चार दिने नेपाल भ्रमण गरी फर्केको केही दिनमा राज्यमन्त्री मिचेन नेपाल आउन लागेका हुन् । अहिलेसम्म घोषणा भइ नसकेको उक्त भ्रमण आगमी २९ माघ र १ फागुनमा हुने कूटनीतिक स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
नेपाल र बेलायतबीच सन् १९२३ को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पुगेको अवसरमा दुई देशबीच उच्चस्तिरीय भ्रमण भइरहेका छन् ।

मिचेल २५ अक्टोबर २०२२ देखि विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।