पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन ४ दल र स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति

२०८० चैत्र २२, बिहीबार १६:४५ बजे

काठमाडौं : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलहरू माओवादी केन्द्र, एमाले, जसपा र एकीकृत समाजवादी तथा स्वतन्त्र सांसद खड्ग बस्नेतबीच पाँच बुँदे सहमति भएको छ ।
बिहीबार भएको सहमतिमा उनीहरूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको दल नेता जोखबहादुर महरालाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेको गरेको उल्लेख छ ।
त्यस्तै, प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरु सरकारमा सहभागी सबै सहयोगी दलहरुको अपनत्व हुने गरी गरिने सहमतिमा उल्लेख छ ।
‘प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानिय सेवा ऐन निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने छ’, सहमतिमा भनिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्व पंक्ति मध्यबाट एक निर्देशक समिति निर्माण गरि कार्यसम्पादन गर्ने नीति अवलम्वन गर्ने सहमतिमा उल्लेख छ ।
त्यस्तै, जनताको सेवालाई सरकारको सर्वोपरी मान्दै राजनैतिक स्थायित्वसहित लुम्बिनी प्रदेश सरकारको स्थायित्व कायम राख्न प्रतिबद्ध भएको उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेश सभामा अहिले ८६ जना सदस्य छन् । हस्ताक्षर गरेका दलसँग भएका सांसद तथा स्वतन्त्र सांसद गरी कुल ४४ जना सांसद एक ठाउँमा उभिएका छन् । जुन मुख्यमन्त्रीमा दाबी गर्नका लागि पर्याप्त संख्या हो। यो गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने सम्भावना छ ।