पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

भुटानमा भारतीय सहयोगमा बनेको अस्पताल मोदीद्वारा उद्घाटन

२०८० चैत्र १०, शनिवार २१:५४ बजे

एजेन्सी- भुटान भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राजधानी थिम्पुमा आधुनिक अस्पतालको उद्घाटन गरेका छन् । भारतको सहयोगमा अस्पताल निर्माण भएको हो ।

अस्पतालको उद्घाटनमा प्रधानमन्त्री मोदीसँगै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि उपस्थित थिए । उनीहरुले मिलेर ग्याल्ट्सुएन जेट्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड अस्पतालको उद्घाटन गरेका हुन् ।

यो अस्पताल भुटान–भारत मैत्री परियोजना अन्तर्गत निर्माण गरिएको हो । भारतीय प्रधानमन्त्री मोदी भुटानको दुई दिने राजकीय भ्रमणका क्रममा शुक्रबार थिम्पु पुगेका छन् । उनले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकलाई भेटेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी गरेका छन् । शुक्रबार भुटानका राजा जिग्मे वाङचुकले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान ‘अर्डर अफ ड्रुक ग्याल्पो’ अवार्डले सम्मान गरेका थिए । प्रधानमन्त्री मोदीले यो सम्मान १४० करोड भारतीयलाई समर्पित गरेको बताएका छन् ।