पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

यौटा सपनाको अवसान–पुजीवादको खास चरित्र

२०७९ चैत्र १६, बिहीबार १७:५२ बजे

काठमाडौं–यस्तो लाग्छ वीरेनप्रताप सपना देख्नकै लागि जन्मिएको हो । यस्तो एक जना भुईंमान्छे जो अर्धाङ्गिनीको सुविस्ता, सन्तानको सुख र प्रगति, बुढेसकालमा सुविधाको सपना देख्छ । सपना पूरा गर्न ऊ कम्पनीको मालिक, साथीभाइ र आफैंसँग लडिरहेको छ । तर उसलाई थाहा छ कि छैन, प्रत्येक कुराको अन्त्य निश्चित छ । सपनाको पनि उदयसगै अवसान होला । अवसानपछि उदय पनि होला । तर वीरेनप्रताप ती स्वप्नदर्शीको एक प्रोटागोनिस्ट हो, जो दुःख छ भन्दैमा सपना देख्न पनि छाड्दैन ।
मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक यौटा सपनाको अवसानले दिमाग हल्लाउछ । व्यवस्था र कर्पोरेट पुजीवादको चक्रभित्र कसरी भुईंमान्छेका सपना पिसिएका छन् भन्ने कुराले रिस उठाउछ । निर्देशक अनुप बरालले वीरेनप्रतापको पात्रमार्फत व्यवस्था,सत्ता संरचनालाई प्रश्न सोधेका छन् । समग्रमा यो नाटक वर्तमान नेपाली समाज, अर्थतन्त्रको जरा र मध्यमवर्गलाई सपना देख्न मनाही छ भन्ने यथार्थको एउटा रेप्लिका हो । नाटक हेरुञ्जेल तपाईंले वीरेनप्रतापको मनोदशा र द्वन्द्वसग उतारचढावपूर्ण यात्रा गर्नुहुन्छ ।
पुजीवादको खास चरित्र के हो भने यसले मान्छेलाई वस्तु देख्छ । जब बजारसग यसको उपयोगिता सकिन्छ, मान्छे र उसका सपनाको अवसान हुन्छ । भौतिकवादी समाजमा रुपान्तरण भइसकेको विश्वमा सपना देख्नेका लागि यो साझा चुनौती हो । नाट्यकार आर्थर मिलरले ८० वर्षअघि नै अमेरिकी परिवेशमा यो नाटक लेखेका थिए । अमेरिकामा तीव्र रुपमा पुजीवादको उदय भइरहदा श्रमिक वर्ग कसरी यो चक्रबाट पिल्सिएका छन् भन्ने दृष्टान्तलाई मिलरले नाटक डेथ अफ अ सेल्सम्यान मार्फत भनेका थिए ।
संसारभर विभिन्न भाषामा नाट्य रुपान्तरण भइरहेको यो नाटकलाई नेपाली परिवेशमा अनुप बरालले ल्याएका हुन् । अनुपकै निर्देशन र विप्लव प्रतीकको अनुवादमा तयार भएको यो नाटकले नेपाली परिवेशमा नेपाली कर्पोरेट घराना र त्यहा आफ्नो वैंश र उर्वरशील समय बिताएका श्रमिकको यथार्थलाई पेश गर्छ । मुख्य पात्र वीरेनप्रताप जो एक कम्पनीमा ३० वर्षदेखि काम गरिरहेको छ, उसलाई जागिरबाट निकालिन्छ । उसका सपनाको अवसान हुन थाल्छ । उसको बहुचरित्रकरणदेखि परिवारका अन्य सदस्य, कम्पनीका मालिक र छिमेकीसग उसको द्वन्द्वले दर्शकलाई उद्देलित बनाउछ ।
मामूली जागिरबाट आएको पैसाले पत्नीको सुविस्ता, सन्तानको सुखदेखि धेरै चीजमा खुसी देख्ने भुईंमान्छेको कथावस्तुसगै नाटकले सब–टेक्स्टमार्फत सुख र खुसीको भिन्नताबारे पनि संवाद गर्छ । असल हुनु र सफल हुनुबीचको भेद पनि केलाउछ । अमेरिकी समाजको जुन विषमतालाई आर्थरले ८० वर्षअघि भनेका थिए, त्यही कथा आज पनि नेपालमा उत्तिकै सान्दर्भिक छ । मिलरले सिर्जना गरेका पात्रहरु सपना र संवेदनाको पोका लिएर हिंडिरहेका छन् । सेक्सपियरपछिका नाटकमा चरित्रको ग्रे जोनलाई लिएर कसैले नाटक लेखेका छन् भने आर्थर मिलर स्मरणीय नाटककार हुन् ।
यो नाटकको खास विशेषता के हो भने सब–टेक्सटमार्फत भनिएको कथाले पात्रको अन्तर्द्वन्द्व, मनोदशा बुझ्न सघाउछ भने नाटकको संवेदनशीलतालाई गहिराइमा पुर्याउछ । कालजयी भाव बोकेको नाटक आजपर्यन्त पनि उत्तिकै सान्दर्भिक मात्र छैन, नेपाली स्वाद र सुगन्धमार्फत नेपाली दर्शकले यसमा मनोरञ्जन लिन सक्छन् । कथा भन्न तयार पारिएको भव्य सेट, प्रयोग हुने अन्य प्रप्सले दर्शकलाई कथाभित्रै छिराइदिन्छ । नाटकको अन्त्यतिर प्रोटागोनिस्टको तस्वीरलाई जलाउन जसरी प्रप्सको कम्पोज गरिएको छ यो अद्भूत छ । यस्तो लाग्छ, भव्य क्यानभासमा अनुप बराल कुनै नयाँ फिल्मको प्रदर्शन गरिरहेका छन् ।
वीरेनप्रतापको भूमिकामा देखिएका रोयदीपले चरित्रमा प्राण भर्न ज्यान दिएका छन् । नाटकका तीनैवटा संरचनामा उनी अब्बल देखिएका छन् । नाटकको अन्त्यतिर उनको अभिनयले मेथड एक्टिङको सौन्दर्यलाई प्रस्तुत गरेको छ । दीया मास्के आमा र पत्नीको भूमिकामा बेजोड छिन् । वीरेनप्रतापको अवसानपछि लीलाको मर्मस्पर्शी संवाद छ– तिमीले हाम्रो घर निखन्नको लागि संघर्ष गयौ । म आज मात्रै हाम्रो घरको ऋणको पुरानो किस्ता तिरेकी थिएँ । तर देखी यो घरमा बस्नका लागि पनि हुनेछैन ।
सनुपप्रतापको भूमिकामा देखिएका दिव्यदेव र पारुको भूमिकामा मेनुका प्रधानले दर्शकको मस्तिष्कमा छाप छाड्छन् । जेठो छोराको भूमिकामा दिव्यदेवको चरित्र ओजपूर्ण देखिन्छ । सेट डिजाइन, प्रकाश संयोजन, भेषभूषाले नाटकलाई जीवन्त बनाउन भूमिका खेलेका छन् । तीन महिना नाटकको तयारी सुरु भएको थियो । यही समयमा व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । नाटकको तयारी र आचार्यको आत्मदाहको घटना संयोग हुन सक्ला तर यसले सत्य र सपनामाथि बहस छेडेको छ ।