पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

२०८० आश्विन ५, शुक्रवार १०:०९ बजे

सर्लाही/मलंगवा- जिल्ला प्रशासन कार्यालय सर्लाहीले पुरानो मलंगवा नगरक्षेत्र भित्र बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि बिहिबार राति १० बजे देखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

कृष्ण जन्माष्टमीमा गत भदौ २२ गते मूर्ति विसर्जनका क्रममा सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो । सोहि समुह बिच बिहिबार साँझ गणेशको मुर्ति सेलाउन जानेक्रममा पुनः झडप हुँदा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

झडपको क्रममा एक युवकमाथि छुरा प्रहार भएको थियो । ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुुढा प्रहार लगायत घटना भएपछि निषेधाज्ञा जारी गरिएको हो । बिहीबार साँझ भएको झडपमा केही स्थानीयहरु घाइते भएका छन् । प्रहरीले झडपलाई लक्षित गर्दै तीन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट देखि बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । 

बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।