पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

भारतको दिल्लीमा ४९.९ र राजस्थानमा ५० डिग्री माथि तापमान, जनजिवन प्रभावित

२०८१ जेष्ठ १७, बिहीवार ०८:०४ बजे

काठमाडाैं- भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । यस्तै राजस्थानका धेरै ठाउँमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

भारतीय मौसम विज्ञान विभागले नरेला र मुङ्गेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामा भन्दा ९ डिग्री सेल्सियसयले धेरै हो । ३ करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।

वर्षाैँकाे वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । भारतीय मौसम विज्ञान विभागले गर्मीले विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाहरूको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।