पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री

२०८१ जेष्ठ २९, मङ्गलवार १३:१४ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।

दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए । विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।