पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

रौतहटमा एसईई परीक्षामा चिट चोराउने प्रधानाध्यापक उतिचन्द्र यादव सहित छ जना पक्राउ

२०८० चैत्र २१, बुधबार १३:४२ बजे

रौतहट- रौतहटमा एसईई परिक्षामा खटिएका पाँच जना परिक्षा निरीक्षक सहित चिट चोराउन संलग्न थप एक जना गरी ६ जनालाई रौतहट प्रहरीले पक्राऊ गरेको छ। 

पक्राउ पर्नेमा पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मा.वि. पथराका प्रधानाध्यापक राजदेवी न.पा. वडा नं. १ बस्ने ४५ बर्षीय उतिचन्द्र यादव, श्री सरस्वती मा.वि. गढीमाई न.पा. वडा नं. ७ मा बस्ने २२ बर्षीय ललन राय यादव त्यसैगरी मौलापुर न.पा. वडा नं.६ मा बस्ने श्री. नि. पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ बर्षीय राम अमोद प्रसाद यादव, मौलापुर न.पा. वडा नं. ६ मा बस्ने श्री शंकर मा.वि. सरमुज्वा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ बर्षीय राकेश कुमार यादव सहित श्री सरस्वती मा.वि.पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर न.पा. वडा नं. १ मा बस्ने राम सोगारथ साह रहेका छन् । 

शैक्षिक सत्र २०८०/०८१ अनुसार भईरहेको एसईईको परीक्षालाई मध्य नजर राखी सामाजिक सञ्जाल ह्वाट्सएपमा एसईई ग्रुप बनाई उक्त ह्वाट्सएप लगायतका सामाजिक संजालको माध्यमबाट परीक्षामा आएका प्रश्नपत्रहरु तथा सोको उत्तर समेतको बिषयबस्तुहरु बिभिन्न सामाजिक संजालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेकोले निजहरुलाई पक्राउ गरेको जानकारी प्रहरीले सार्वजनिक गरेको हो। 

निजहरुलाई " २०८० सालको एसईई परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ " गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको व्यहोरा रौतहट प्रहरीले जनाएको छ।