पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

वीरगंजमा मन्त्री श्रेष्ठलाई रास्वपाका आफ्नै कार्यकर्ता र पदाधिकारीले गरे बहिष्कार

२०८० चैत्र २६, सोमबार १६:२३ बजे

जलेश्वर सर्राफ 

वीरगंज- नारायणी रंगशालामा निरिक्षण भ्रमण गर्न वीरगंज महानगरपालिकाका विवादास्पद मेयर राजेशमान सिंहको निम्तोमा पुगेका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पार्टीसँग समन्वय नगरी महानगरका प्रमुखको निम्ता मान्न वीरगन्ज आएपछि आफ्नै पार्टीका कार्यकर्ता र पदाधिकारीले अघोषित बहिष्कार गरेका छन्।

सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न बारा जिल्ला आएको मौका पारि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पार्टीसँग समन्वय नगरी महानगरका प्रमुखको निम्ता मान्न वीरगंज आएपछि आफ्नै पार्टीका कार्यकर्ता र पदाधिकारीले अघोषित बहिष्कार गरेका हुन्।

अरूको छोरीको नक्कली बाबु बनेर नागरिकता दिलाएको र किर्ते जन्म दर्ता बनाएको अभियोगमा मुद्दा झेलिरहेका विवादास्पद मेयर राजेशमान सिंहको निम्ता मान्न पार्टीका पदाधिकारीहरूसँग सल्लाह नै नगरी खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ पूर्व श्रम मन्त्री आफ्नो ससुरा शरदसिंह भण्डारीको निर्देशनमा वीरगंज आएपछि रास्वपा पर्सा जिल्ला संयोजक दिलीप कुमार कुर्मी, केन्द्रीय सदस्य डा.नन्दन यादव लगायत जिल्लाका पदाधिकारीहरू सहभागी नभएको बुझिएको छ।

केही दिन अगाडि शरदसिंह भण्डारीले काठमाडौंमा आफ्नो ज्वाइँ मन्त्री बिराजभक्त श्रेष्ठसँग मेयर राजेशमान सिंहको भेट गराएर वीरगंजको मेयरको पार्टी बेग्लै भए पनि आफ्नो मान्छे भएकोले सहयोग गर्न आग्रह गरेको श्रोतले जनाएको छ। वीरगंज भ्रमणको क्रममा खेलकुद मन्त्रीले जीर्ण नारायणी रङ्गशालाको र वीरगंज महानगरपालिकाको अवलोकन भ्रमण गरेका थिए।

मन्त्री विराजभक्त मार्फत उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रभावित गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट भइरहेको कारबाही रोकिएकोले वीरगंजमा दिनहुँ राजेशमानका विपक्षीहरूले टायर बाल्दै नारा जुलुस प्रदर्शन गरिरहेका छन्।

गृहमन्त्री लामिछाने आफै दोहोरो नागरिकता काण्डमा संलग्न भएका कारण पनि उनले राजेशमानको नागरिकता काण्डको छानबिनमा असहयोग गरेको चर्चा वीरगंजमा सुरु भएको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमानले गरेका किर्ते नागरिकता केशमा कारवाही प्रक्रिया अगाडी बढाउन नदिने खेल कुन अदृश्य शक्तिले गर्दैछ? भन्ने चर्चा परिचर्चा समेत हुन थालेको छ।