पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

रुसद्वारा युक्रेनको थप दुई गाँउ कब्जा गरेको दाबी

२०८१ वैशाख २७, बिहीवार ०७:०९ बजे

मस्को-  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ। 

किस्लिभ्का संकटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो। 

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन्। 

युक्रेनका कमान्डर-इन-चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको बताएका थिए। 

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हासिल गरेको छ। किएभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ। 

अलग रूपमा रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ ।