पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

अमेरिकाले यसै साता युक्रेन लगायत एसिया प्यासिफिकमा अर्बौँ डलर बराबरका अस्त्र सहितको सहायता पठाउने

२०८१ बैशाख १२, बुधबार २३:३७ बजे

एजेन्सी- मंगलवार अबेर अमेरिकी सिनेटले ९५ अर्ब डलर बराबरको विदेशी सहायतसम्बन्धी विधेयक अनुमोदन गरे पछि अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई केही दिनभित्रै थप अस्त्र तथा उपकरणहरूको पठाइने बताएका छन्।

यसै साता सहायता पठाउन सकियोस् भनेर बुधवार नै विधेयकमा हस्ताक्षर गर्ने बाइडनले बताएका छन्।

रुसले अतिक्रमणमा तीव्रता दिइरहँदा युक्रेनले पश्चिमा सहायताका लागि ताकेता गर्दै आएको पृष्ठभूमिमा अमेरिकी अनुदान अनुमोदित भएको हो।

उक्त सहायता प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सैन्य सहयोग रहेको छ।

अनुदानसम्बन्धी विधेयकको पक्षमा व्यापक मत खसेसँगै कङ्ग्रेसमा जारी ६ महिनायताको गतिरोध अन्त्य भएको छ।

विधेयक पारित भएकोमा प्रशंसा गर्दै बाइडनले भनेका छन्, “महत्त्वपूर्ण विधेयक पारित भएसँगै हामीले हाम्रो मुलुक तथा विश्वलाई थप सुरक्षित तुल्याउनेछौँ किनकि हामीले हाम्रा मित्रहरूलाई सहयोग गरिरहेका छौँ जो हमासजस्ता आतङ्कवादीसँग र पुटिनजस्ता तानाशाहविरुद्ध लडिरहेका छन्।”

डेमोक्र्याटिक सिनेट मेजोरिटी लिडर चक सुमरले भने- “छ महिनादेखिको कठिन परिश्रम तथा कैयौँ उतारचढाव एवं घुम्तीपछि अमेरिकाले सिङ्गो विश्वलाई सन्देश पठाउन सकेको छ- हामी तपाईँका लागि पिठयूँ फर्काउन्नौँ।”

त्यसैगरी उक्त सहायता प्याकेजमा इजरेल र ताइवानका साथै युक्रेनका लागि सैन्य सहायता पनि समेटिएका छन्।

सहायता प्याकेजसम्बन्धी विधेयक अनुमोदन भएपछि प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “त्यसबाट लोकतन्त्र एवं स्वतन्त्र विश्वका निम्ति अमेरिकी भूमिका महत्त्वपूर्ण रहेको पुनः प्रमाणित भएको” टिप्पणी गरेका छन्।

गत फेब्रुअरीमा सिनेटले सोही प्रकृतिको एउटा सहायता प्याकेजलाई अनुमोदन गरेको थियो।

तर युक्रेनलाई नयाँ सहायता दिने कदमको विपक्षमा रहेका अनुदारवादी नेताहरूको एउटा समूहले तल्लो सदनमा मतदानका लागि त्यसलाई आउनबाट रोकेका थिए।

सन् २०२२ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म अमेरिकाले युक्रेनलाई ४० अर्ब डलरभन्दा बढीको सैन्य सहायता उपलब्ध गराएको एउटा जर्मन अनुसन्धान सङ्गठनले जनाएको छ।

उता चीनको सामना गर्नका निम्ति ताइवानसहित एशिया प्यासिफिकमा ८ अर्ब डलर सहायता तोकिएको छ।

पछिल्लो अमेरिकी विदेशी सहायतामा इजरेलका लागि १७ अर्ब डलर छुट्ट्याइनुका साथै गाजासहित युद्धग्रस्त क्षेत्रमा पीडा खेपिरहेका नागरिकका सहायताका निम्ति ९ अर्ब डलर निर्धारण गरिएको छ।