पाठशाला न्यूज
 २०८१ आषाढ ९, आइतवार    

वाग्मती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

२०८१ आषाढ २, आइतवार ०८:०२ बजे

हेटौँडा : वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१\८२ का निम्ति ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आउँदो आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्ट्याइएको छ । पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थपलियाले बताए ।
कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५६.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याइएको मन्त्री थपलियाले जानकारी दिए ।
गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड १४ लाख ३१ हजार रुपैयाँले वृद्धि भएको हो ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए ।
आउँदो आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ ।