पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

मुगुमा सामुहिक बलात्कारमा परेकी बालिकाको बिशेष निगरानीमा उपचार

२०८० माघ १, सोमवार २०:२६ बजे

मुगु : मुगुमा नगर प्रहरी र सरकारी कर्मचारी गरि पाँच जनाको सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका–१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएपछि हाल बिशेष निगरानीमा उपचार भइरहेको छ ।

पक्राउ परेका पाँच जना आरोपीलाई भने प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ। पक्राउ परेका छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका–५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन्। उनीहरूलाई पुस २५ गते नै पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीका अनुसार अन्य तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन। कृषि विकास कार्यालय गमगढीकै सवारी चालक जुम्लाको चन्दननाथ नगरपालिका–७ का ३० वर्षीय पदम बहादुर कठायतसहित अन्त तीन जना भने हालसम्म फरार छन्।

स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अपस्तालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन्। अस्पतालमा उपचार सम्भव नभएपछि ओसिएमसी कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताइन्। बालिका अहिले प्रदेश अस्पतालको ओसिएमसी अन्तर्गत फाँटमा रहेकी छन्। सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए।

१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ भने बालिकाको गर्भमा १८ हप्ताको बच्चा रहेको कुरा समेत पारिवारिक स्रोत‌समेतबाट खुल्न आएको छ ।