पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सर्प पालन कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री सहित ७ जना बिरुद्ध मुद्दा दायर

२०८० आश्विन २१, आइतवार १५:२५ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सर्प पालन कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री विजयकुमार यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले प्रदेशका आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरी बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको ठहर गरेको छ । 

प्रदेश सरकारको आव ०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि प्रचलित कानुनविपरीत लागत साझेदारी शून्य रहेको उक्त प्रतिष्ठानलाई बदनियतपूर्वक सरकारी रकम उपलब्ध गराई १७ करोड ९८ लाख हिनामिना गरेको अख्तियारको आरोप छ। 

अख्तियारले पूर्व मन्त्री यादव र नगर प्रमुख खड्का सहित आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध मुद्दा दायर गरेको हो। 

भ्रष्टाचार आरोपित ७ जनाबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना समेत गर्न अख्तियारले माग गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।

अख्तियारले जारी गरेकाे प्रेस विज्ञप्ति