पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मार्क जुकरबर्गले अर्बौ लगानीमा आलिसान निवास बनाउने

२०८० पौष ४, बुधवार २०:५३ बजे

एजेन्सी : मेटा कम्पनीका सीईओ अर्बपति मार्क जुकरबर्गले अर्बौ लगानीमा अमेरिकी इतिहासमै सबैभन्दा ठूलो एक आलिसान निवास बनाउने भएका छन् ।
निकै गोप्य रहेको हवाइस्थित जग्गामा उनले एउटा पूरै गाउँ, धेरैवटा महल तथा पाँच हजार वर्गफिटको भूमिगत बंगरसहितको भव्य निवास बनाउन २७ करोड डलर खर्च गर्ने भएका हुन् ।
हवाइको सबैभन्दा पुरानो टापुमध्येको एक काउइमा रहेको जग्गामा उनले अर्बौं डलर खर्चिएर संरचना बनाउने भएका हुन् ।
उक्त ठाउँमा उनीहरुको १३ सय एक्कड जग्गा यसअघि नै रहेकोमा सन् २०२१ मा थप ११० एक्कड जमिन खरिद गरेर विस्तार गरेका थिए ।
जुकरबर्गले आफ्नो निजी निवासमा बनाउने २७ करोड डलरको संरचना अमेरिकी इतिहासमै सबैभन्दा ठूलो व्यक्तिगत प्रयोजनको निर्माण हुनेछ । त्यहाँ बन्ने दुईवटा महलले ५७ हजार वर्गफिट क्षेत्रफल ओगट्नेछन् ।

त्यहाँ बन्ने उनको आलिशान घरहरुमा ३० वटा बेडरुम, ३० बाथरुम, कन्फ्रेन्स कक्षहरु, एउटा ठूलो किचेन, धेरैवटा एलिभेटरलगायत रहने उनले अदालत तथा कर विभागमा पेस गरेका कागजातरुबाट खुलेको छ ।
विस्तृत भूमिगत सुरुङ प्रणालीले त्यहाँका महलहरुलाई एक अर्कासँग जोड्नेछ । साथै यसले आवासस्थललाई दोब्बर बनाउनेछ । जुन पाँच हजार वर्गफिटमा फैलिनेछ र यसमा लिभिङ एरिया, पुस्तकालयलगायतका ठाउँ बनाइनेछ ।
साथै बम आक्रमणलगायतका बाह्य खतराबाट समेत उक्त सुरुङ सुरक्षित हुनेछ । जसमा धातु र कंक्रिटबाट निर्मित आवाज समेत नछिर्ने ढोका हुनेछन् ।
जुकरबर्गको उक्त निवास परिसर हरेक कुरामा आत्मनिर्भर हुनेछ, चाहे खानेकुरा होस् वा पानी र अन्य आवश्यकताका सामानहरु । त्यहाँ गेष्ट हाउस, जिमखाना, साउना, स्वीमिङ पुल, हट टब, चिसो पानीको पोखरी, टेनिस कोर्टलगायतका हरेक सुविधा रहनेछन् ।
अर्को स्वप्नील सुविधा भनेको त्यहाँ ११ वटा ट्री हाउसको सञ्जाल छ जुन एक अर्कामा धागोको पुलले जोडिएका छन् । स्मरण रहोस् उक्त ट्री हाउस निर्माता कम्पनीले गत वर्ष करिब एक लाख ३३ हजार डलर रकम भुक्तानी नगरेको भन्दै जुकरबर्गविरुद्ध मुद्दा हालेको थियो । जुकरबर्गको उक्त महँगो रियलस्टेट परियोजना विवादमुक्त भने छैन । जुकरबर्गले सयौं एक्कड जग्गामा पूरै गाउँसहितको आफ्नो निजी निवास बनाएर हवाइ टापुलाई उपनिवेश बनाउन थालेको समेत आरोप लागेको छ ।

जुकरबर्गले स्थानीय समुदायको जग्गामा आफ्ना महल बनाउनका लागि उनीहरुलाई मुद्दा हालेको आरोप अभियानकर्मीहरुको छ । वर्षको केवल २ महिना बस्नका लागि जुकरबर्गले स्थानीय समुदायको उठिबास लगाएर भव्य महल बनाउन थालेको हुँदा त्यसलाई रोक्नुपर्ने उनीहरुको माग छ । जुकरबर्गको निवास निकै गोप्य छ । उनले आफ्नो जग्गालाई ६ फुट अग्लो पर्खालले घेराबन्दी गर्न सन् २०१६ बाटै सुरु गरेका हुन् ।