पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

कांग्रेसका सह–महामन्त्री यादवमाथि हमला,कार्यक्रममा के बोलेका थिए ?

२०८० भाद्र २०, बुधवार २३:४० बजे

काठमाडौँ –नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौँमा साङ्घातिक हमला भएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
बुधवार दिउँसो रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनीमाथि हमला भएको थियो । कार्यक्रममा उनले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । उनले भनेका थिए,‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, वास्तवमा यो नेपालमा यसले एक किसिमले तरङ्ग ल्याएको छ । यो कूटनीतिक मर्यादाको विपरीत हो । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौँ ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
नेता यादवले भनेका थिए,‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभौमिकतामाथि हनन हो । नेपालीहरूलाई उहाँले अपमानित गर्नुभएको छ ।’
उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युत्को कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौँ । भारतसँग भने १७ अर्ब बिजुली किनेका छौँ । नेपालमा लोडसेडिङ भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सीमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेष खालको सम्बन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन ।’
उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आइन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु,’उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने,‘परराष्ट्र मन्त्रालयले यो मामिलामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होइन । उहाँले हामीलाई पढाउने होइन । सिकाउने होइन ।’
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरूलाई कूटनीतिक मामिलामा सिकाउने स्वीकार्य नभएको उनको टिप्पणी थियो । उनले भने,‘कूटनीति हामीलाई पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौँ रेलमार्ग बनाइदेऊ भनेका छौँ । तर भएको छ त ? हामीले त अनुदान र फ्री मा बनाउन भनेका छौँ । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढीमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन । त्यसको पनि ऋण थपिएको थपिएकै छ । ब्याज बुझाउन सकेका छैनौँ ।’
उनले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘चीनले आफ्नो नक्सा जारी ग¥यो, अरू देशको जमिन राखेर बनाउने होइन । हाम्रो चुच्चे नक्सा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्सा राखेन । चीनसँगका हाम्रा नाकाहरू कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौँ । तर, भारतबाट राहत पायौँ । हामीलाई परेको बेलामा भारतबाट सहयोग भइरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस् । पढाउने कोसिस नगर्नुहोस् । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।’
उनले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुसी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरूलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस् भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरूको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाइएको छ । दोष केही पनि छैन । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भइरहेको छैन ।’ उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जाहेरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन । खाँणजीको खातामा कतै पनि अस्वाभाविक रकम देखिएको छैन ।’
यादवले बालकृष्ण खाणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर गरे । उनले भने,‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा । क्याबिनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरूको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए । ती अहिले पनि बाहिर छन् । जसको सिग्नेचर छैन, उ जेलभित्र छ । आज न भोलि अदालतले बालकृष्ण खाँणलाई न्याय दिन्छ । सबैले भनेका छन् कि उहाँ निर्दोष हो । उहाँ निर्दोष साबित भएर बाहिर आउने मेरो विश्वास छ ।’

उनले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे । उनले भने,‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ । पाँच वर्षसम्म यो गठबन्धन रहन्छ । प्रचण्डजी पछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ । यो गठबन्धन कायम रहन्छ । कांग्रेसले अरूसँग गएर सरकार बनाउँदैन ।’
उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेन्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने पनि दाबी गरे । तर, अहिले गृहमन्त्री हटाउनेबारे आफूहरूले कुनै इस्यु वा एजेन्डा नबनाएको उनको जिकिर थियो । उनले भने,‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ । हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ । तर, उहाँले निष्पक्ष भएर काम गर्नुपर्छ । उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ ।’ उनले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बढिभन्दा बढी काम गर्नुपर्ने सुझाए । उनले भने,‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ ।’