पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

चैत्र २७ गते देखि सुनसरीको बराहक्षेत्रमा कुम्भमेला

२०८० चैत्र १५, बिहीबार ०८:२० बजे

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।
कुम्भमेला प्रारम्भ हुनु पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए । उनले भने, “१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ ।” उनले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताए ।
मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आँकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ ।
भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ ।