पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेकपा एमालेको मधेस प्रदेश अधिवेशन सुरु, ९ लाख मानिसहरुलाई गरिविको रेखामुनीबाट मुक्त गरेको अध्यक्ष ओलीको दाबी

२०८० आश्विन २४, बुधवार १७:२० बजे

तेजविक्रम कार्की 

जनकपुरधाम/धनुषा- बुधबार, असोज २४ गते धनुषाको जनकपुरधाममा नेकपा एमालेकाे प्रथम मधेश प्रदेशको अधिवेशन सुरु भएको छ । 

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको भवनमा भइरहेको उक्त अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो। 

आफ्नो मन्तब्यको क्रममा बोल्दै पार्टी अध्यक्षले भुकम्पमा ध्वस्त भएको देशमा भत्किएका ८ हजार घरहरु निर्माण गरि जनतालाई राहत दिएको दावि गर्नु भयो। सुनकोशी मरिण डाइभर्सनले १ लाख ८५ हजार बिगाहा जमिन सिचाई गरेर मधेसका किसानहरूको जिवनमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावि गर्दै अध्यक्ष ओलिले देशलाई तुइन मुक्त गरेको समेत दाबी गर्नु भयो। 

अध्यक्ष वलिले आफूलाई जनकपुर रेल्वेले रेल चढ्न आउँदा थप दुईवटा रेलको आवश्यकता भएको कुरा जानकारी दिएको बताउनु भयाे। 

एमालेले सरकारमा रहँदा सडकका अभिभावक बिहिन बालबालिका देखि सडकमा अलपत्र परेका र बेसाहारा जिवन बिताइरहेका मानिसहरूको लागि उचित व्यवस्थापन गरेको दावि गर्दै देशमा हुलाकी राजमार्गको लागि महत्त्वपूर्ण काम गरेर अन्य ठूला आयोजनाको समेत सुरुवात गरेको र यी सम्पूर्ण कामहरु अन्य सरकारले गर्न नसक्ने बताउनु भयाे।

९ लाख मानिसहरूलाई गरिविको रेखामुनीबाट मुक्त गराएको र बिदेश जाने युवाहरुको सङ्ख्यालाई १८ प्रतिशतले घटाएको दावि गर्दै ओलिले देशलाई एमालेले मात्र अग्रगामी दिशा तिर लैजाने बताउनु भयाे।

अधिवेशनमा उपस्थित सम्पूर्णलाई २०८४ मा पार्टीलाई पहिलो बनाउनका लागि लाग्न निर्देशन दिदै एमालेको बहुमतको सरकारले मात्र मधेसको भविष्य सुनौलो गरि लेख्ने दाबी गर्नु भयो। 

धर्म प्रसाद ढकाललाई मारेको आरोप लगाएर आफुलाई त्यतिबेला पनि मार्न खोजिएको बताउदै आफुलाई मार्न खटाइएका त्यतिबेलाका एक प्रहरिले यस्तो देशभक्तलाई मार्दिन भनेर बचाएको समेत अध्यक्ष ओलिले बताउनु भयो । आज पनि म लगायत पार्टीका असल र इमान्दार कार्यकर्ताहरु माथि झुटो आरोप लगाएर पार्टीलाई बदनाम गर्न बिरोधीहरु लागि परिरहेको बताउनु हुँदै अध्यक्ष ओलीले पार्टी भित्र एकताबद्ध भएर अनावश्यक मनमुटाव त्यागेर अगाडी बढ्न आग्रह गर्नुभयो।

कम्तिमा ७ देखि ८ हजार मानिसको उपस्थितिमा सुरु भएको अधिवेशनमा मधेस प्रदेश कमिटीका उप सचिव आरति भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो।

अधिवेशनमा पार्टी कमिटी पोलिटब्युरो सदस्य पुर्व मन्त्री जुलि कुमारी महत्वले पनि शुभकामना मन्तब्य दिनुभयो। महत्वले मधेसका भूमि-पुत्रहरुले आफ्नो रगतले सिञ्चेर पार्टीको इतिहास कोरेको गरिमा व्यक्त गर्नु हुँदै उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो । 

त्यसैगरी पार्टी पोलिटब्युरो सदस्य एवम् पुर्व मन्त्री लिलानाथ श्रेष्ठले आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्दै मधेसका किसानहरू माथि सरकारले निर्मम भएर अन्याय गरिरहेको बताउनुभयो। 

पार्टी पोलिटब्युरो सदस्य एवम् पुर्व मन्त्री रघुविर महासेठले आफ्नो शुभकामना मन्तब्य राख्दै मधेस र मधेसी जनताले एमाले पार्टीको इतिहास कोरेको दाबी गर्दै आगामी दिनहरुमा पनि मधेसी जनताहरुले पार्टीको लागि सधै इमान्दार भएर अगाडी बढ्ने बताउनु भयो। 

मन्तव्य कै क्रममा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले मधेसको भूमि एमाले पार्टीको जन्मभूमि भएको दाबी गर्नुभयो । पोख्रेलले ५० बर्ष अगाडिको इतिहासको सम्झना गर्दै एमाले पार्टी मधेसको भूमिबाट हुर्किएको पार्टी भएको हुँदा मधेसको पार्टी भित्र छुट्टै गर्व रहेको समेत बताउनु भयाे। 

करिब १५० जना अन्य पार्टीका कार्यकर्ताहरुले अधिवेशनमा एमाले पार्टी प्रवेश गरेको अधिवेशनमा मधेश प्रदेशको आठवटा जिल्लाबाट अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट भएका छन् । १०५ जना स्वयंसेवक परिचालन गरिएको उक्त अधिवेशनमा करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।