पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल

२०७९ भाद्र १८, शनिबार १५:३४ बजे

काठमाण्डौ–नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसंग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको उल्लेख गर्दै नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको बताइन् ।
अध्यक्ष राणाले भारतीय पर्यटन प्रवर्द्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन भारतीय दूतावास मार्फत पहल गर्दै गरेको पनि बताइन् । सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धी कफीटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा भइरहेको राणाले बताइन् ।
नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागि संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि पनि अध्यक्ष राणाले अनुरोध गरिन् ।
जवाफमा सचिव पुष्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको भन्दै प्रशंसा गरे । त्यस्तै पुष्करले अहिले भारत सरकारले नेपालप्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपमा नै हेर्ने गरेको बताए । सो क्रममा संघका उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिर्देशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितलगायतको सहभागिता थियो ।