पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

माल्दिभ्सबाट भारतले आफ्नो सैनिक फिर्ता बोलायो, मुइज्जुको इन्डिया आउटको चुनावी बाचा पुरा

२०८१ वैशाख २८, शुक्रवार ०८:१४ बजे

काठमाडौं- मालदिभ्समा राष्ट्रपति मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन दिएको निर्देशन सकिनु एक दिन अगावै भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । 

‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए ।

भारतको सरकारी आँकडा अनुसार मालदिभ्समा ८८ जना सैनिक थिए । मालदिभ्समा तीन विमानस्थलमा भारतीय सैनिकहरु तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा पनि निगरानी गर्दथे ।

मालदिभ्सको मिहारु पत्रिकाका अनुसार एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए ।

एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्नेभएकाछन् ।

यता भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन्।