पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

गौर हत्याकाण्ड मुद्दामा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

२०८१ बैशाख १२, बुधबार १७:३९ बजे

काठमाडौं- सर्वोच्च अदालतले बुधवार गौर हत्याकाण्ड मुद्दाको सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

पीडितले न्याय नपाएको भन्दै पीडितको तर्फबाट त्रिभुवन साहले गत २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई बिपक्षी बनाई रिट दर्ता गराएका थिए।

गत वर्ष २०८० जेठ २१ मा दायर रिटमा जेठ २२, २५, २६ र २९ मा चारपटकका पेसीमा सुनुवाइ नै नभई स्थगित भएका थिए । हेर्न नभ्याइनेमा पर्दै रोकिएका पेसीपछि गत जेठ ३० मा वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसले जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट अहिलेसम्म भएका अनुसन्धानका रिटपोर्टहरु झिकाउने आदेश गरेकाे थियो । 

२७ जनाको ज्यान गएको र ५३ जनाभन्दा बढी घाइते भएर धेरै परिवारको बिचल्ली भएको घटनामा किटानी जाहेरी दिँदासमेत कारवाही नभएको गुनासो पीडितहरूले गर्दै आएका छन् । 

वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका विरुद्धमा रौतहट प्रहरीमा पीडितहरूले किटानी जाहेरी दिएका थिए । उनीहरूको जाहेरीमा १६ वर्षसम्म सुनुवाइ नभएपछि जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल समेतलाई विपक्षी बनाएर साहसहितले रिट दायर गरेका थिए।