पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा

२०८१ बैशाख ४, मंगलबार ०६:४२ बजे

एजेन्सी – इन्डियन प्रिमियर लिग  खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ।

बैंगलोरको चिन्नास्वामि मैदानमा भएको रोमाञ्चक खेलमा कीर्तिमानी स्कोर बनाएको सनराइजर्स हैदराबादले छैटौं खेलमा चौंथो जित निकालेको हो।

इन्डियन प्रिमियर लिगको (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो ।

यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो । तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ । हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध २ सय ७२ रन बनाएको थियो ।

हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर सो योगफल खडा गरेको थियो । हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए । ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए ।

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै बनाए । अभिसेख शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे ।

बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्लि १ विकेट लिए ।

जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन बनाउन सक्यो । बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाएपनि जित तर्फ डोहोर्याउन सकेनन् ।

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए । विराट कोहलीले २० बलमा ४२ बनाए । अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ । बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ ।

आईपिएलमा मंगलबार हुने खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् ।