जलेश्वर सर्राफ
वीरगंज- आम जनता पार्टी (आजपा) र जनमत पार्टीले बर्तमान संविधानको खारेजीको माग गर्दै वीरगंजमा आज अन्त्येष्टि यात्रा निकालेको छ।

यो विरोध प्रदर्शनको क्रममा प्रहरीले आजपाका केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, तथा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतकाहरुलाई पक्राउ गरेको छ।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ परेका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। पक्राउ परेकाहरुमाथि संविधान विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कारबाही हुने बताइएको छ।

संबिधान दिवसको अवसरमा नेपाल सरकारले देशको हरेक गाउँपालिका नगरपालिका तथा महानगरपालिकामा उत्सव दिवस मनाइरहेको बेला आजपा र जनमत पार्टीले मधेस प्रदेशभर संविधानको खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ।
आजपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड र हस्तक्षेपको घोर भर्त्सना गरेका छन्। उनले पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गर्दै राज्यद्वारा गरिएका यस्ता कार्यलाई अलोकतान्त्रिक भनेका छन्।
प्रदर्शनकारीहरूले संविधानको आलोचना गर्दै यसको खारेजीको माग गरिरहेका छन् भने सरकारले सम्बोधन गर्ने दृष्टिकोणमा भने स्पष्टता दिएको छैन।