पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सत्ताको शक्ति, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाइने

२०८१ वैशाख २४, सोमवार १३:३७ बजे

काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने भएको छ ।

उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिलको कार्यालय, सुर्खेतले मुद्दा नचलाउने निर्णय गरेको हो ।

निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो ।

अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको वकिलको कार्यालयको भनाई छ ।

यसअघि कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो । 

सुर्खेत प्रहरीका अनुसार २०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन मा.वि.मा अध्ययनरत कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा किटानी जाहेरीमा नाम उल्लेख भएका पञ्चा सिंह सहित कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध १५ वर्षपछि जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो ।