पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

अमेरिकी राजदूत थम्प्सनले लोवथाङमा खेले गल्फ

२०८० आश्विन २२, सोमवार १०:१४ बजे

पोखरा–नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सनले चीनको सीमा नजिक लोवथाङमा गल्फ खेलेका छन् । अघिल्लो वर्ष निर्माण गरिएको मुस्ताङ गल्फ कोर्समा उनले आइतबार गल्फ खेलेका कोर्षका म्यानेजिङ डाइरेक्टर इन्द्रधारा विष्टले जानकारी दिए ।
थम्प्सनसँगै उनकी श्रीमतिले पनि ९ होलको गल्फ खेलेकी थिइन् । यो कोर्ष लोमान्थाङ भन्दा माथी रहेको खर्कमा पर्छ । ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको कोर्षमा यसअघि दुईपटक एम्योचर गल्फ च्यालेन्ज भैसकेको छ ।
चारैतिर हिमाल देखिने मुस्ताङ गल्फ कोर्ष विश्वकै सबैभन्दा उचाईमा रहेको दावी गरिएको छ । यसलाई विश्व कीर्तिमान कायम गराउन क्लवले प्रयास गरिरहेको छ ।
अमेरिकी राजदूत थम्प्सनले गल्फ खेलेपछि विश्व कीर्तिमान कायम गर्न झनै सहज हुने विष्टको भनाई छ । ‘अमेरिकन राजदूत ले यो उचाईमा गल्फ खेलिदिनु हाम्रो लागि पनि निकै खुसीको कुरा हो,’ उनले भने, ‘हाम्रो अभियानमा यो खवरले झनै वल पुग्नेछ ।’ थम्प्सन उत्तरी मुस्ताङका विभिन्न ठाउँमा निर्मित संरचनाहरुको निरीक्षणका लागि त्यहाँ पुगेका हुन् । वारागुङ मुक्तिक्षेत्रको झोङ गुफा तथा लो घेकर दामोदर कुण्ड गाउँपालिका स्थित मराङको सबैभन्दा पूरानो गुम्बा निर्माणको चरणमा छ । सोही कार्यक्रम हेर्न उनी त्यहाँ पुगेका थिए । उनी शनिबार राती लोमान्थाङ पुगेका हुन् । ‘गल्फ खेल्दा छुट्टै आनन्द आएको सुनाउनुभयो । मौसम खुलेकोले निकै खुसी हुनुहुन्थ्यो,’ ल्हो घ्याल्पो जिग्मे फाउण्डेसनको प्रोजेक्ट म्यानेजर याङछेन ढुङकर गुरुङले भनिन् । थम्प्सनले आइतबार लोमान्थाङका युवाहरुसँग वर्तमान समस्या र चुनौतिबारे छलफल गरेका थिए ।