पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आज राष्ट्रिय सभा निर्वाचन, बिहान ९ बजेदेखि मतदान सुरु

२०८० माघ ११, बिहीवार ०८:३४ बजे

काठमाडौं : राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो । अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन् । जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन् ।

संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मतदान बिहीबार बिहान ९ बजेदेखि सुरु हुने छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन् ।
यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाताले मतदान गर्नेछन् ।
प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख तथा उपप्रमुख र उपाध्यक्ष तथा अध्यक्षको मतभार १९ कायम गरिएको छ ।