पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

सन् २०३० को विश्वकप फुटबल स्पेन-पोर्चुगल-मोरक्को सहित थप ३ दक्षिण अमेरिकी देशहरू मिलेर आयोजना गर्ने

२०८० आश्विन १८, बिहीवार ०१:१६ बजे

काठमाडौँ- फिफाले सन् २०३० को विश्व कप फुटबल प्रतियोगितालाई १०० औं वार्षिकोत्सवको रूपमा मनाउने भएको छ ।

फिफाका अनुसार सन् २०३० को विश्वकपमा खेलिने खेलहरू तीन अलग-अलग महादेशहरूले आयोजना गर्ने भएका छन्। ति तिन महादेशका छ वटा देशहरू मध्ये स्पेन, पोर्चुगल र मोरक्को आधिकारिक विश्वकप आयोजक राष्ट्र हुनेछन् भने फिफाले सन् १९३० मा अर्जेन्टिनालाई फाइनलमा हराएको उरुग्वेले आयोजना गरेको पहिलो विश्वकपको शताब्दी मनाउन प्रतियोगिताको पहिलो तीन खेल आयोजना गर्ने अधिकार भने दक्षिण अमेरिकी तीन वटा देशहरूलाई दिएको छ। ती देशहरूले "उद्घाटन खेलहरू" आयोजना गर्नेछन् ।

पहिलो पटक विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा दक्षिण अमेरिकी देशहरू मध्ये अर्जेन्टिना, उरुग्वे र पाराग्वेले आफ्नो पहिलो खेल घरेलु भूमिमा खेल्नेछन्। त्यसपछि उनीहरू स्पेन, पोर्चुगल र मोरक्कोमा विश्वकप यात्रा जारी राख्न युरोप जानेछन्। तर उदघाटन समारोह भने स्पेन, पोर्चुगल वा मोरक्कोमध्ये एउटा देशमा हुनेछ। 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार स्पेन, पोर्चुगल र मोरक्कोको संयुक्त विडलाई फिफा काउन्सिलले सर्वसम्मतिले सहमति गरेको हो ।  यो निर्णयलाई अर्को वर्ष हुने भनिएको फिफा महाधिवेशनमा अनुमोदन गर्नुपर्ने हुन्छ। तर यसलाई एउटा औपचारिकताको रुपमा मात्रै लिईन्छ। 

यो निर्णयलाई शान्ति, सहिष्णुता र समावेशीताको ठूलो सन्देशको रुपमा लिदै अध्यक्ष जियानिले दुई महादेश - अफ्रिका र युरोप - फुटबलको उत्सवमा मात्र नभई अनौठो सामाजिक र सांस्कृतिक एकता प्रदान गर्न पनि एकजुट भएको बताएका छन्।