पाठशाला न्यूज
 २०८१ आषाढ १०, सोमवार    

को बन्ला भारतको नयाँ प्रधानमन्त्री ?

२०८१ जेष्ठ २०, आइतवार ०८:०१ बजे

एजेन्सी :  भारतमा लोकसभाको चुनाव सकिएको छ । शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन् ।
४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो । १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।
विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचारबाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ । सधैंभरी आतंकवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान भएको पाइएको छ ।
सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा होमिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभरि सयौं र्याली तथा सभालाई सम्बोधन गरे । उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यसपटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् । यसपटक पनि मोदी नै दोहोरिने विभिन्न एक्जिट पोलले बताएका छन् । मोदीको गठन्धनले चारसय पार गर्न सक्ने केहीको अडकलबाजी रहेको छ ।

कट्टर हिन्दुवादी पार्टीका रूपमा चिनिएको भारतीय जनता पार्टी भाजपाले हिन्दु मतलाई आफ्नो पक्षमा ध्रुवीकृत गरेर चुनावमा जित्ने रणनीति लिएको देखियो। भाजपालाई कांग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ ।
कांग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवा गर्दै चुनावभर देश दौडाहा गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए ।
पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आएका छन् ।
९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ । हरेक चरणमा मतदान प्रतिशत घटेको छ । समग्रमा भएको मतदानको प्रतिशत निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
शनिबार अन्तिम चरणमा भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणासीमा पनि मतदान भएको छ । त्यहाँ कांग्रेसले अजय रायलाई उतारेको छ । कांग्रेस नेता राहुल गान्धी केरलको वायानाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनावी मैदानमा उत्रिएका छन् । देशैभर ईभीएमबाट मतदान भएको छ । सबैतिरको मतगणना एकैसाथ जुन ४ का दिन हुनेछ ।
सत्तारुढ भाजपा र इन्डिया गठबन्धन दुवैले आ–आफ्नो जितको दाबी गरेका छन् । भाजपा अध्यक्ष जेपी नड्डाले भारी बहुमतका साथ आफ्नो सरकार पुनः बन्ने दाबीलाई दोहोर्याएका छन् । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले इन्डिया गठबन्धनले कम्तीमा २९५ सिट जित्ने दाबी गरेका छन् ।