पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

१४ किलो सुन प्रकरणमा धरौटीमा रिहा भएका गुरुङ फरार

२०८० चैत्र २७, मंगलबार १९:५३ बजे

काठमाडौं- १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङ फरार भएका छन् । 

यसअघि ६० किलोभन्दा बढी सुनमा पनि निज गुरुङको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएतापनि हालसम्म पनि गुरुङलाई फेला पार्न सकेको छैन ।

२१ मंसिरमा फ्लाई दुबईको एयरमार्फत १४ किलो सुन लिएर आउँदै गर्दा गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि उक्त १४ किलो सुन तस्करीमा गुरुङको संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले घलेलाई १४ फागुनमा पक्राउ गरेको थियो ।

गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

१४ किलो सुनमा रिहा भए पनि गुरुङको संलग्नता ६० किलो भन्दा बढीमा समेत संलग्नता खुलेको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीका नाइके दावाजिन वाङले चढेको गाडी नै गुरुङको नाममा रहेको खुलेको थियो ।

दावाजिनले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई गाडी सहयोग गर्न भनेको र त्यसपछि महराले प्लाटिनम कलेजका अध्यक्षलाई दावाजिनलाई सहयोग गर्न भनेका थिए । दावाजिनले रकम दिएपछि गुरुङले आफ्नो नाममा गाडी किनेर दावाजिनलाई दिएको खुलेको थियो।

उक्त गाडीमार्फत नै दावाजिनले अवैध सुन ओसारपसार र कारोबार गरेको देखिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । गुरुङकै नाममा गाडी खरिद गरेर सुन तस्करीमा प्रयोग गरेको पाइएपछि सीआईबीले ६० किलो सुन तस्करीमा पनि गुरुङमाथि अनुसन्धान अघि बढाएको हो।

तर ५ चैतमा १५ लाख धरौटीमा रिहा भएका गुरुङ भने अहिले फरार भएको सीआईबी स्रोतले बताएको छ । ६० किलो सुन तस्करीमा गाडीको बन्दोबस्त गुरुङ गरेको देखिएको र महरासँग समेत सम्बन्ध रहेको पाइएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ। 

तर हालभने गुरुङ मोबाइल स्वीचअफ गरेर फरार भएको सिआईबीले जनाएको छ।