पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

२०८० पौष १८, बुधवार ०७:४२ बजे

खलङ्गा : दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् ।
सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् । विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन् । बुवा र बाजेले लगाएका पाँच दस बोटबाट खेती सुरु गर्नुभएका धामीको बारीमा अहिले साना र ठूलो गरेर एक सय ७५ ओखरका बोट छन् ।
हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्ना समेत बिक्री हुँदै आएको छ । धमीले भने, ‘बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए । ’बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो । धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएका छन् । यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पु–याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक रु दुई लाखसम्म आम्दानी हुनेगरेको बताए ।
ओखर खेतीले पछिल्लो समय राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए । उक्त वडामा मात्र बर्सेनि रु २५लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू–भागमा पनि ओखर निक्कै फल्ने गर्दछ ।
सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरु झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो । सरकारले विसं २०७८देखि दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए ।
दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो । यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो ।