पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

अमेरिकामा विस्फोट हुदाँ ७ जना घाइते

२०८१ जेष्ठ १६, बुधवार ०९:३० बजे

ओहायो : अमेरिकाको ओहायोमा विस्फोट हुँदा सातजना घाइते भएका छन् भने दुईजना सम्पर्कविहीन भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ । विस्फोट मंगलबार डाउनटाउन योङ्स्टाउनमा भएको थियो ।
विस्फोट सेन्टर स्क्वायरनजिक भएको प्रहरीले जनाएको छ । प्रहरीले सो क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । विस्फोटको कारण के हो भन्ने कुरा खुलेको छैन । विस्फोटबाट चेज बैंक र अपार्टमेन्ट भएको स्थान प्रभावित भएको छ ।
योङस्टाउनका फायर चिफ बेरी फिन्लेले प्रारम्भिक अध्ययनमा सो विस्फोट प्राकृतिक ग्यास विस्फोट भएको जनाएका छन् । तर, पछि उनले क्रुहरूले ग्यास लिक भए नभएको बारेमा एकीन गरिरहेको जनाएका छन् । “मैले थाहा पाएको कुरा भनेको त्यहाँ विस्फोट भएको भन्ने हो,” मंगलबार साँझ पत्रकार सम्मेलनमा फिन्लेले भने ।
स्थानीय मर्सी हेल्थले मंगलबार साँझ ७ जनाको उपचार भइरहेको र एक जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । प्रहरीले विस्फोटमा परेको भवनबाट मानिसलाई हटाउनुका साथै नजिकको बाटो पनि बन्द गरेको छ ।
साभार : एबीसी न्युज