पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

हिन्दूराष्ट्रको मागमा एक हजार भन्दा बढी महासमिति सदस्यले गरे हस्ताक्षर

२०८० फाल्गुन १०, बिहीबार १६:२८ बजे

काठमाडौं- नेपाली कांग्रेसको जारी महासिमिति बैठकमा संविधानमा रहेको धर्म निरपेक्षता हटाएर हिन्दूराष्ट्र राख्नुपर्ने मागमा एक हजार भन्दा धेरै महासमिति सदस्यले हस्ताक्षर गरेका छन्।

उनीहरुले हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। शंकर भण्डारीले हिन्दूराष्ट्रका लागि गरेको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन्।

बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए।

भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्।

सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरुको पुरक प्रस्ताव मूल प्रस्तावमा समावेश भएर आउनु पर्ने बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए।

कांग्रेसको ०७५ साल मै भएको महासमिति बैठकमा पनि हिन्दू राष्ट्र घोषणा माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो।

त्यतिबेला ७१७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। कांग्रेसमा झण्डै २३ सय महासमिति सदस्यहरू छन्। फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पुरक प्रस्ताव ल्याएका थिए।