पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड श्रीलंकासँग ८ विकेटले पराजित

२०८० कार्तिक ९, बिहीवार २१:१२ बजे

बैंगलोर- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई अब एकदिवसीय विश्वकप (विश्वकप–२०२३) को सेमिफाइनल पुग्न असम्भव भएको छ । जोस बटलरको कप्तानीमा रहेको टोली बिहीबार बेङ्गलुरुमा भएको खेलमा पूर्व च्याम्पियन श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । यसरी इंग्ल्याण्डले ५ खेलमा चौथो हार बेहोरेको छ भने श्रीलंकाले ५ खेलमा दोस्रो जित दर्ता गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टोलीले सावधानीपूर्वक खेल सुरुआत गरेतापनि विकेट खस्न थालेपछि ३५ ओभर पनि खेल्न गाह्रो भयो । पूरै टोली ३३.२ ओभरमा १५६ रनमा अलआउट भयो। यसपछि श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनाएर लक्ष्य पुरा गरेको थियो ।

१५७ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकालाई दोस्रो ओभरमा नै झट्का लागेको थियो । कुसल परेरा (४) डेभिड विलीले बेन स्टोक्सको हातबाट कैच आउट भए । त्यसपछि विलीले कप्तान कुसल मेन्डिस (११)लाई पनि प्याभिलियन पठाए । उनलाई जोस बटलरले क्याच आउट गरे । मेन्डिसले १२ बलमा २ चौकाको मद्दतले ११ रन बनाए । ओपनर पथुम निसान्काले ७७ रनको अविजित इनिङ खेले । निसान्काले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । समीरा विक्रम (६५*)ले पनि अर्धशतक प्रहार गरे ।

निसान्का र समीराले तेस्रो विकेटका लागि १३७ रनको अविजित शतकीय साझेदारी पनि गरे । लाहिरु खेलको प्लेयर अफ द म्याच चुनिए ।

यसअघि डेभिड मलानले जोनी बेयरस्टोसँग ४५ रनको ओपनिङ पार्टनरसिप गरेका थिए । त्यसपछि विकेट झर्ने क्रम यस्तो भयो कि पूरा टोली ३३.२ ओभरमा अलआउट भयो। चोटबाट फर्केका शक्तिशाली अलराउन्डर बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए । श्रीलंकाका लागि लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथ्युज र कसुन रजिथाले २/२ विकेट लिए ।