पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

एनसेलको सेयर खरिद–बिक्रीको छानबिन सकियो, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी

२०८० माघ १५, सोमवार १७:३९ बजे

काठमाडौं-  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ। डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन तयार भएसँगै समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने तयारी पनि गरेको समितिका एक सदस्यले बताए। सम्भवत: सोमबार साँझसम्म प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने समितिका ती सदस्यको भनाइ छ।

सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो। सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो।

मंसिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने समय पाएको थियो।

तर समय समाप्त भएको र काम नसकिएको भन्दै समय माग गरिएको थियो। त्यही समयमा संयोजक टङ्कमणि शर्मा बेलायत पुगेका थिए। तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिनलाई समय थपेको थियो। सोहीअनुसार सोमबार प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको ती सदस्यलेबताए।