पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

मेयर सिंहलाई कारवाही नगरेको भन्दै वीरगंजमा प्रदर्शन

२०८० चैत्र २४, शनिबार १९:०२ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज सहरमा आज मेयर राजेशमान सिंहलाई कारवाही नगरेको हुनाले टायर बालि सहरका बिभिन्न ठाउँमा प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेकाछन्। 

वीरगंजमा आज टायर बालेर प्रदर्शन गर्दा प्रदर्शनकारीहरु मध्येका बरकत अली,महम्मद नौसाद,शेख रमजान र महम्मद अफताब गरि चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत तिन महिना देखि वीरगंज महानगरका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नामक युवतीलाई आफ्नो छोरी बनाएर दिलाएको किर्ते जन्मदर्ता तथा किर्ते नागरिकता सम्बन्धमा अहिलेसम्म सम्म स्थानीय प्रशासनले कार्यवाही प्रक्रिया अगाडी नबढाएको कारणले सचेत नागरिक समाज पर्सा तथा विभिन्न राजनीतिक दलको अगुवाइमा भईरहेको शान्तिपूर्ण आन्दोलनमा आज प्रहरी हस्तक्षेप सहित चारजना विद्यार्थीहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानिय प्रहरी प्रशासनले वीरगंज महानगरपालिकाको मेयर राजेश मान सिंहलाई किर्ते नागरीकता प्रकरणमा विभिन्न किसिमको बहाना बनाई कारवाहीबाट जोगाउनको निम्ति ढाकछोप गरेको आरोप लगाउँदै वीरगंज बजारमा दिनहुँ प्रदर्शन भइरहेको छ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदिनले स्थानिय प्रहरी प्रशासनले मेयर राजेशमान सिंहलाई जोगाउन कागजात मिलाएर षडयन्त्र गरिरहेकोले दबाव स्वरूप दिनहुँजसो मशाल जुलुश, पुत्लादहन र नारावाजी हुँदै आइरहेको जानकारी दिएका छन्।

प्रहरी प्रशासनले मेयर राजेशमान सिंह माथि कानुनी कारवाही अगाडी नबढाए आउने दिनहरुमा प्रदर्शनकारीहरुले अर्ध नग्न जुलुस, गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता विरोधका कार्यक्रम आयोजना हुने बताएका छन्।