पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

एट्लेटिको म्याड्रिडलाई हराउँदै डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

२०८१ बैशाख ५, बुधबार ०६:२४ बजे

एजेन्सी – स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्ड ले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले दोस्रो लेगमा अग्रता लिँदै समग्रमा २-२ को बराबरी गर्यो ।

त्यसको पाँच मिनेट पछि लेफ्ट-ब्याक इयन माट्सेनले दोस्रो गोल गर्दै समग्रमा घरेलु टोली डर्टमुण्डले अग्रता लिन सफल भयो ।

४९औं मिनेटमा आत्मघाती गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले समग्रमा टाईमा बराबरी गर्यो । कर्नर किकमा मारियो हर्मोसोको हेडर पश्चात म्याट्स हुमेल्सले आत्मघाती गोल गरे ।

६४औं मिनेटमा एट्लेटिकोले अर्को गोल गर्यो । रोमान रिकेल्मेको प्रहार डर्टमुण्ड गोलरक्षक कोबेललें बचाएपछि एन्जल कोरेयाले दोस्रो पटकमा गोल गर्दै एट्लेटिको लाई समग्रमा अग्रता दिलाए ।

७१औं मिनेटमा डर्टमुण्डका निकोलास फुलक्रुगले हेडर मार्फत गोल गर्दै पुनः समग्रमा बराबरी गरे । त्यसको तीन मिनेट पछि डर्टमुण्डले अर्को गोल गर्यो ।

मार्सेल साबिट्जरले बक्सको छेउबाट गरेको लो-ड्राइवलाई एट्लेटिको गोलरक्षक ज्यान ओबल्याकलिए बचाउन नसकेपछि पुनः डर्टमुण्ड समग्रमा अगाडि पुग्यो । अन्त्यमा सोही गोल डर्टमुण्डलाई प्रतियोगितामा जीवित राख्न पर्याप्त बन्यो ।

च्याम्पियन्स लिगमा बुधबार राती थप दुई क्वाटरफाइनल दोस्रो लेगमा खेलहरु हुनेछन् । रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्दा आर्सनल र बायर्न म्युनिख भिड्ने छन् । दुवै खेलको पहिलो लेग बराबरीमा सकिएका थिए ।

डर्टमुण्ड ले अब फाइनल प्रवेशका लागि फ्रेन्च टोली पेरिस सेन्ट जर्मन विरुद्ध खेल्नेछ । पिएसजी अर्को स्पेनिश टोली बार्सिलोना माथि समग्रमा ६-४ को जित निकाल्दै अन्तिम चारमा पुगेको छ ।