पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

त्रिकोणात्मक टी–२० आई सिरिजः नेपाल र नेदरल्यान्ड्सबीच आज फाइनल खेल

२०८० फाल्गुण २२, मङ्गलवार ०८:०३ बजे

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेल मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच हुँदैछ । खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको हो ।
यो खेलबाट १ अंक पाएको नेदरल्यान्डस ५ अंकका साथ फाइनल पुगेको हो । नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो ।
शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको छ । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।
आइतबार १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् ।

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल नेदरल्यान्डस र नाममिबिया सम्मिलित छन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।
टी–२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्डस एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।